
काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरू हुने हिन्दू धर्मावलम्बीको स्वस्थानी ब्रतकथा तथा माधवनारायणको पूजा आराधना आज (शुक्रबार) देखि सुरू भएको छ।
माघ शुक्ल पूर्णिमासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी परमेश्वरीको ब्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।
हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको सुरूआत हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रतकथा सुन्ने सुनाउने परम्परा छ।
गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार ब्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र ब्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र) को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ। त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्छ ।
माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ। यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्।
आजैबाट काठमाडौंको शालीनदीमा स्वस्थानीको मेला सुरु भएको छ।
अन्तिम अपडेट : २०७९ पौष २२ गते ११:१६ बजे
Comments