आख्यानकार सुमन वर्षाको कथाकृति 'अभ्यन्तर' सार्वजनिक

  • झरना खबर
  • २०८१ आश्विन १८ गते १२:४६ बजे प्रकाशित

काठमाडौँ । आख्यानकार सुमन वर्षाको कथाकृति 'अभ्यन्तर' सार्वजनिक भएको छ । हिजो बिहीबार नेपाल प्रज्ञाप्रतिष्ठानको पारिजात हलमा भएको एक कार्यक्रममा उक्त कथाकृति सार्वजनिक गरिएको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.अभि सवेदीले कथाकृति 'अभ्यन्तर' सार्वजनिक गरेका हुन् । कार्यक्रममा समालोचक वक्ता डा. ज्ञानु पाण्डे, आख्यानकार वक्ता नयनराज पाण्डे, प्रजातान्त्रिक प्राध्यापक संघ नेपालका अध्यक्ष जगत तिमिल्सिना,पशुपति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विनोदचन्द्र पन्त, शिखा बुक्सका प्रबन्धक पुष्पराज पौडेल अतिथिमा रहेका थिए ।

प्रमुख अतिथि प्रा.डा.अभि सुवेदीले कथाकार सुमन वर्षाको कथाकारिताबारे चर्चा गर्दै उनको कथालेखन एक विशिष्ट खालको रहेको र कथामा उनले नयाँ विषयलाई ल्याउने प्रयास स्तुत्य रहेको बताएका छन् ।

अङ्ग्रेजी विषयमा प्राध्यापन गर्ने सुमन वर्षाको कथा सरसर्ती पठन गर्दा सरल लागे पनि यी कथाहरूमा पाश्चात्य कथा-लेखनको प्रभाव भेटिन्छ । उनका कथामा सामाजिक विषयका साथै विज्ञान कथा,पर्यावरणीय विषयको कथा र रोबोटिक कथा पनि समावेश भएकाले सङ्ग्रह विशेष बनेको बताए । उनले यो पनि चर्चा गरे, सुमनले कतिपय कथा फरक दृष्टिकोण र पृथक शैलीका साथ लेखेकी छन् । कथामा उनले आफ्नो लेखकीय स्वतन्त्रताको उच्च प्रयोग गरेकी छन् ।’

त्यस्तै मन्तव्यकै क्रममा  डा.ज्ञानु पाण्डेले कथाकृतिबारे चर्चा गर्दै कथाकार सुमन वर्षाले समाजका विविध विषयवस्तुमाथि कथा लेखेर समाजको यथार्थ चित्रण गरेको बताइन् । उनले कथाकार वर्षाका यस सङ्ग्रहका कथाहरूमा समाजको राम्रो चित्रण रहेको बताउँदै भनिन्, ‘साहित्यकार समाजको मनोचिकित्सक हुन् । तिनले समाजका अन्तरङ्ग घाउलाई साहित्यमार्फत उजागर गरेर त्यसको उपचारको बाटो देखाइदिन्छ ।’

कार्यक्रमका अर्का वक्ता आख्यानकार नयनराज पाण्डेले वर्षाको कथासङ्ग्रहमाथि आफ्नो पाठकीय मन्तव्य राख्दै कथाकार सुमनका कतिपय कथाहरू फरक विषय र शैलीको भएको बताए । उनले कथाकार सुमन वर्षा एक साहसिक कथाकार हुन् भन्दै कथाकार वर्षाले आफ्ना कथाहरूमा फरक विषय र विविध कथावस्तुलाई सहज रूपमा चित्रण गरेको बताए ।

कथाकृति सार्वजनिक कार्यक्रममा अन्य अतिथिहरू जगत तिमिल्सिना, विनोदचन्द्र पन्त, कथाकार वर्षाकी सुपुत्री डा सोमिका बस्नेतले आ-आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।

सुमन वर्षा पछिल्लो समयकी निकै चर्चित साहित्यकार हुन् । उनका हरेक लेख तथा रचनामा समाजको यथार्थ चित्रण भएको पाइन्छ । समाज परिवर्तनमा नारीको भूमिकाका वारेमा दर्बिलो आवाज उठाउने आख्यानकार सुमन वर्षा युवा पुस्तामा निकै भिजेकी साहित्यकार हुन् ।

कार्यक्रममा कथाकार सुमन वर्षाले आफ्नो लेखकीय मन्तव्यका रूपमा आफ्नो यस सङ्ग्रहमा रहेका कथाहरूको सिर्जनामा विभिन्न व्यक्तित्वको साथ र प्रेरणा रहेको चर्चा गरिन् । उक्त कार्यक्रमको अध्यक्षता शिखा बुक्सका प्रबन्धक पुष्पराज पौडलले गरेका थिए भने कार्यक्रमको सञ्चालन साहित्यकार रञ्जना निरौलाले गरेकी थिइन् । यसअघि शिखा बुक्सले सुमन वर्षाको उपन्यास ‘अन्ततः यन्त्रणा’ प्रकाशन गरेको थियो ।

सम्बन्धित समाचारहरू

Comments