मध्यरातमा खोला उत्खनन

  • २०७६ माघ २१ गते १०:१५ बजे प्रकाशित

दिउँसो हुने गरेको अवैध उत्खननको चौतर्फी विरोध आउन थालेपछि क्रसर उद्योगीले राती उत्खनन गर्दै आएका छन् । सोमबार पनि बिहान ३ बजेदेखि नै टिपरहरु लिएर खोलामा पसेको स्काभेटरलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

स्थानीयले स्काभेटर चालक जोगिमारा निवासी ३० वर्षीय मोहन घलेलाईसमेत नियन्त्रणमा लिएका थिए । चालकसहित स्काभेटर नियन्त्रणमा लिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

मलेखु खोला दोहनको स्थानीय रूपमा व्यापक विरोध सुरु हुन थालेपछि विष्णु थापा, हेमराज भुजेलसहितको टोलीले सोमबार बिहान अवैध उत्खनन गरिरहेको स्काभेटरलाई नियन्त्रणमा लिएको थियो ।

घटनास्थलमा पुगेका प्रहरीले चालक र स्काभेटरलाई आवश्यक कारवाहीको लागि बेनिघाट रोराङ गाउँपालिकालाई बुझाएको इलाका प्रहरी कार्यलय गजुरीका प्रमुख डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उक्त स्काभेटर हरेक दिनजसो मध्यरातमा खोलामा पसेर मलेखु खोलामा अन्धाधुन्द दोहन गर्दै आइरहेको स्थानीयले बताएका छन् । अवैधानिक क्रसर र बालुवा तस्करको दबदवाका कारण यतिबेला मलेखुखोला क्रसर उद्योगीले अघोषित रूपमा कब्जा गरेजस्तै हालतमा पुगेको छ ।

उक्त स्काभेटर निकै विवादित क्रसर उद्योग ‘युनाइटेड क्रसर उद्योग’को रहेको स्थानीयले बताएका छन् । उक्त क्रसर उद्योगलाई बेनिघाट रोराङ गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर गतवर्ष संचालनको अनुमति दिएको थियो । पालिकाले क्रसर संचालनको अनुमति दिएलगत्तै विरोध सुरु भए पनि अहिले क्रसर उद्योगले निर्वाधरुपमा मलेखु खोलाको दोहन गरिरहेको छ ।

क्रसर उद्योगी र तस्करी गर्नेहरुको अवैध धन्दाका कारण मलेखु खोलाको स्वरुप नै बिग्रिएपछि हिजोआज स्थानीयले समेत अवैध उत्खननको विरोध जनाउन थालेका छन् ।

खोला छेउ–छाउमा स्थापना गरिएको क्रसरका कारण नदी र खोलाजन्य वस्तुको उत्खनन् जथाभावी गर्दा खोलाको धार परिवर्तन हुनुका साथै खोला छेवैमा रहेको सडकलाई निकै असर पुग्न थालिसकेको छ । खोलाको दोहन यतिसम्म भएको छ कि खोलामा पाइने जलचरप्राणीको नामोनिशान भेटिँदैन भने सामान्य भन्दा ५ देखि १० मिटरसम्म्मको गहीराइमा खोला भासिइसकेको छ । स्थानीयले खेतमा पानी लगाउन लैजाने बाँध नरहने अवस्थामा पुगिसकेको छ ।

सम्बन्धित समाचारहरू

Comments