पत्नी र छोराछोरीको हत्यापछि आत्महत्या

  • झरना खबर
  • २०७९ श्रावण १७ गते १२:४३ बजे प्रकाशित

काठमाडौं : सोमबार बिहान करिब ८ बजे सदाझैं काठमाडौंको तार्केश्वर नगरपालिका–२ काभ्रेस्थलीस्थित पदमसालमा बसोबास गर्ने दिनेश पाण्डेकी १३ वर्षीया छोरी आसिकालाई लिन विद्यालयको बस आइपुग्यो। केहीबेर पर्खंदा पनि उनी आइनन्। निकै बेर नआएपछि उनको खोजी हुन थाल्यो। उनको खोज्नेहरू घरसम्मै पुगे। त्यतिखेरसम्म घरका झ्यालढोका सबै बन्द थिए। बाहिरबाट बोलाउँदा पनि भित्रबाट कसैले जवाफ फर्काएनन्। त्यतिबेला बिहानको ९ बजेको थियो। अवस्था शंकास्पद देखेपछि स्थानीयले प्रहरी वृत्त बालाजुलाई खबर गरे। प्रहरी टोली तुरुन्त आइपुग्यो। प्रहरीले ढोका फोर्‍यो। घरभित्र निकै बीभत्स दृश्य देखियो। शव यत्रतत्र छरिएका थिए। जताततै रगतैरगत थियो। आसिका र उनका आठ वर्षीय भाइ आसिकको शव ओछ्यानमा थियो भने बुवा ४१ वर्षीय दिनेश पाण्डे र आमा ३९ वर्र्षीया आमा सुनिता काप्री पाण्डेको शव भुइँमा थिए।

प्रहरी अनुमानस् हत्यापछि आत्महत्या

पाण्डे निवासको दारुण दृश्य देखेपछि प्रहरीले तत्काल अनुसन्धान थाल्यो। प्रहरी वृत्त बालाजु, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न कोणबाट प्रारम्भिक अनुसन्धान अघि बढाए। घटनाको अनुसन्धानका लागि शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक टोली पनि घटनास्थल पुग्यो। फरेन्सिक डा। गोपाल चौधरी र डा। आयुष उपाध्यायसहितको टोली त्यहाँ पुगेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानले दिनेशबाटै यो घटना भएको अनुमान गरेको छ। उनले सुरुमा पत्नी र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेको जनाइएको छ। दिनेशकी पत्नी सुनिता र उनीहरूका छोराछोरी आसिक र आसिकाको टाउको र पेटका विभिन्न भागमा धेरैपटक छुरा प्रहार भएको नेपाल प्रहरीका एक अनुसन्धान अधिकृतले जानकारी दिए। उनका अनुसार यस कार्यमा भान्छामा प्रयोग हुने चक्कुको प्रयोग गरिएको छ।

पत्नी र छोराछोरीको हत्यापछि दिनेशले आफूले आत्महत्या गरेको देखिएको प्रहरी स्रोतले जनाएको छ। प्रहरी अनुमानअनुसार सुरुमा पाण्डेले नाडी काटे र झुन्डिनेसम्मको प्रयास गरे, अन्तमा आफ्नै पेटमा छुरा रोपे। नाडी र पेटको चोट लागेपछि अत्यधिक रक्तश्राव भई उनको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। ‘घटनाको प्रकृति हेर्दा पत्नी र छोराछोरीको हत्यापछि दिनेशले आत्महत्या गरेको देखिन्छ। घटनास्थलमा सुसाइड नोट पनि भेटिएको छ,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० कृष्ण कोइरालाले भने, ‘विस्तृत अनुसन्धान अझै भइरहेको छ। बाँकी विवरण र सत्यता त्यसबाट खुल्दै जानेछ।’

त्यो ‘सुसाइड नोट’ दिनेशको रहेको मानिएको छ। त्यसबाट उनले पत्नी परपुरुषसँगको सम्बन्धमा रहेको आशंका गरेको बुझ्न सकिन्छ। पत्नीकै कारण वैवाहिक जीवनबाट आफू सन्तुष्ट नभएकोलगायत विषय पाण्डेले ‘सुसाइड नोट’मा उल्लेख गरेको स्रोतको भनाइ छ। यसबाहेक सुनिताले म्यासेन्जरमा परपुरुषसँग गरेका कुराकानीका स्क्रिनसटसमेत त्यसमा प्रिन्ट गरेर राखिएको पाइएको स्रोतले जनाएको छ।

वैदेशिक रोजगार र शंका

गोरखाको भीमसेन थापा गाउँपाकिला–६ आश्राङ स्थायी घर भएका दिनेश १२ वर्षसम्म वैदेशिक रोजगारीमा बसेर फर्किएको स्रोतले बताएको छ। उनले कुवेतका १२ वर्ष बिताएको देखिएको छ। उनी नेपाल फर्किएको चार वर्ष मात्रै भएको छ। त्यहाँबाट फर्किएर उनले काठमाडौंको मनोहरामा खरिद गरेको जग्गा बेचेका थिए। त्यसपछि उनले पदमसालमा जग्गा किनेर एकतले घर बनाए।

उनले पदमसालमै मोबाइल पसल खोलेर चलाउँदै आएका थिए। त्यो पसल उनले एक महिनाअघि मात्र बिक्री गरेको स्थानीय बताउँछन्। उता पत्नी सुनिता पनि कपडा पसल चलाउँथिन्। स्थानीयका अनुसार दिनेश नेपाल फर्केसँगै पतिपत्नीबीच झगडा हुन थालेको थियो। झगडको मुख्य कारण दिनेशले पत्नीमाथि शंका गर्नु रहेको देखिन्छ। झगडाले उग्र रूप लिँदा उनीहरू तीनपटक बालाजु प्रहरी वृत्तसम्म पुगेका थिए। तीनैपटक उनीहरूबीच मिलापत्र भएको स्रोतको भनाइ छ।

झगडा भइरहँदा उनीहरूले सम्बन्धविच्छेद गर्नेसम्मको छलफल गरेको उनीहरूलाई नजिकबाट चिन्नेहरू बताउँछन्। दिनेशले नै पत्नी सुनितासँग सम्बन्ध विच्छेद माग्ने गरेको स्रोतको दाबी छ। तर सुनिताले छोराछोरीकै कारण सम्बन्धविच्छेद गर्न चाहेकी थिइनन्। बरु उनले आफैं विदेश जाने तयारी थालेकी थिइन्। यसका लागि उनले बेलायतको सिजनल भिसाको प्रक्रिया थालेकी थिइन्। उनको बेलायत जाने प्रक्रिया अन्तिम चरणमा पनि पुगिसकेको थियो। एक महिनाकै बीचमा उनी बेलायत उड्ने तयारीमा थिइन्। यसैका लागि उनले आफूले चलाउँदै आएको फेन्सी पसल बिक्री गरेकी थिइन्। सहकारीमा राखेको रकम पनि झिकेर खाता बन्द गराइसकेकी थिइन्।

उनको बेलायत जाने यो निर्णयमा दिनेश भने असहमत थिए। यही कारण पनि उनीहरूबीचमा पछिल्लो समय विवाद भइरहेको स्थानीय जानकार स्रोतको भनाइ छ। पाण्डेको परिवार सखाप हुनुको एउटा कारण परपुरुषसँगको शंका भए पनि अर्को कारण सुनिताको बिदेसिने चाहनाप्रति दिनेशको असहमति र त्यसबाट उत्पन्न विवाद रहेको बुझ्न सकिन्छ। नागरिक दैनिकबाट

सम्बन्धित समाचारहरू

Comments